राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको परिचय
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, नेपाल सरकार, श्रम, युवा तथा रोजगार मन्त्रालय अन्तर्गत सञ्चालन हुने एक प्रमुख निकाय हो। यस प्रतिष्ठानले देशभित्र आवश्यक दक्ष, अर्धदक्ष तथा सीपयुक्त जनशक्ति उत्पादन, रोजगारी प्रवर्द्धन तथा उद्यमशीलताको विकास गर्ने उद्देश्यका साथ व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ।
नेपालमा व्यावसायिक तालिमको औपचारिक सुरुआत वि.सं. २०१६ सालमा विराटनगरमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना भएपछि भएको मानिन्छ। समयक्रममा सञ्चालनमा रहेका विभिन्न तालिम कार्यक्रम तथा केन्द्रहरूलाई एकीकृत गर्दै प्रतिष्ठानको वर्तमान संरचना विकास गरिएको हो। हाल प्रतिष्ठानले श्रम बजारको माग, स्थानीय आवश्यकता तथा राष्ट्रिय प्राथमिकतालाई मध्यनजर गर्दै विभिन्न सीप विकास तालिम सञ्चालन गर्नुका साथै तालिमको गुणस्तर अभिवृद्धि, पाठ्यक्रम विकास, प्रशिक्षक क्षमता विकास तथा रोजगारमुखी कार्यक्रमहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
प्रतिष्ठानले निर्माण, सेवा, पर्यटन, सूचना प्रविधि, अटोमोबाइल, विद्युत, सिलाई-कटाई, सौन्दर्य सेवा लगायत विभिन्न क्षेत्रमा आधारभूत, सीप अभिवृद्धि, प्रशिक्षक प्रशिक्षण, उद्यमशीलता विकास तथा वैदेशिक रोजगारसँग सम्बन्धित अभिमुखीकरण तालिम सञ्चालन गर्दछ।
सीपयुक्त, प्रतिस्पर्धी र आत्मनिर्भर जनशक्ति उत्पादनमार्फत राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा योगदान पुर्याउने लक्ष्यका साथ प्रतिष्ठानले सरकारी, निजी तथा विकास साझेदार संस्थाहरूसँग समन्वय र सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।